पोखरा– बुद्धिसागर तिमिल्सिना च्यांग्राको बगालमा छिरे । यताउता आँखा डुलाएपछि रोज्जा च्यांग्रालाई च्याप्पै समातेर उचाले । एकछिन काखमा राखेर तौलिए ।
पोखराको याम्दी पुल नजिकै च्यांग्रको बगाल लिएर बेच्न बसेका व्यपारीसँग केहीबेर मोलमोलाइ गरे । चित्त बुझ्दो रेटमा पाएपछि खरिद गरे । भेडा डो¥याउदै सवारीमा उनी लेखनाथतर्फको बाटो तताए ।
दशैंको मुखमा भेडाच्यांग्रा खरिद गर्न सिम्पानीदेखि याम्दीको पुलसम्मको क्षेत्र चाहार्छन् । त्यहीँबाट लगेका भेडाच्यांग्रको मासुले दशैंमा मासुको स्वाद फेर्छन । दशैंको बेला च्यांग्रा किन्न उनी छुटाउदै छुटाउदैनन् ।
किन दशैंको बेला उनको रोजाईमा हिमाली लेकबाट झारिएको भेडाच्यांग्रा पर्छ ? ‘अरु बेला त यहाँकै स्थानीय खसीपाठाको मासु खाइन्छ । लेकतिर चरेका मिठो पनि हुने र स्वास्थ्यलाई त्यति असर नगर्ने भनेर नै महंगो भएपनि च्यांग्राको मासु खाइन्छ’, बुद्धिसागरले सुनाए । स्वादिलो मासुका लागि पनि च्यांग्रा रोजाइमा पर्ने उनको भनाइ छ ।
उनी १० बर्षदेखि दशैंमा भेडाच्यांग्रा रोज्दै आएको बताउँछन् । उनका अनुसार मागसँगै भेडाच्यांग्राको मूल्य पनि उकालो चढिरहेको छ । सुरुमा उनले १०/१२ हजार रुपैयाँमा च्यांग्रा किनेको सम्झना छ । यो बर्ष ३५ हजार रुपैयाँसम्म मूल्य तोकिएको छ । केही बर्ष पहिला ४५ हजार रुपैयाँ बढी पनि परेको थियो । बुद्धिसागर भन्छन्, ‘बर्षमा एकचोटी जति महंगो भएपनि स्वाद फेरौं भनेर मात्रै हो ।’
‘अघिपछि बोका र खसीको मासु खाइरहन्छौं । ठ्याक्कै दशैं बेलामै भेडाच्यांग्रा आउँछ । हिउँदमा आउदैन’, उनी भन्छन्, ‘जडिबुटी खाएको कारणले पनि स्वास्थ्यलाई राम्रो हुन्छ भनेर दशैंमा किनेर लैजान्छौं ।’
हेम्जाका देवबहादुर थापा पनि बर्षेनी भेडा र च्यांग्रा लैजान्छन् । दाजुभाइसँग मिलेर खरिद गरेको भेडा र च्यांग्रा दशैंको छेकोमा ढाल्ने उनले बताए ।
‘अघिपछि बोका र खसीको मासु खाइरहन्छौं । ठ्याक्कै दशैं बेलामै भेडाच्यांग्रा आउँछ । हिउँदमा आउदैन’, उनी भन्छन्, ‘जडिबुटी खाएको कारणले पनि स्वास्थ्यलाई राम्रो हुन्छ भनेर दशैंमा किनेर लैजान्छौं ।’ मौकाचानसले पाइने भएकाले पनि दशैंको बेला पोखरेलीले भेडाच्यांग्रा धेरै खाने उनको भनाइ छ ।

बझाङबाट भेडाच्यांग्रा लिएर झरेका व्यापारी जसवीर बोहोराका अनुसार पनि पोखरेलीले भेडाच्यांग्रा निकै रुचाउछन् । त्यसैले उनी एक दशकदेखि दशैंको मुखमा भेडाच्यांग्रा लिएर पोखरा नै ओर्लन्छ । हिमाली खर्कमा जडीबुटी खाएर हुर्केका भेडा च्यांग्राको माग राजधानी काठमाडौंमा भन्दा पर्यटकीय सहर पोखरामा बढी भएको उनको भनाइ छ ।
‘पोखरामा मार्केट राम्रो छ । पोखरेलीले च्यांग्रा निकै खान्छन् । घरकै एक दुईटा लैजान्छन् । त्यही हिसाबले नै हामीले बेच्न आउँछौं’, उनी सुनाउछन् ।
तुलनात्मक रुपमा पछिल्ला वर्षमा बरु व्यापार खस्केको उनको अनुभव छ । उनले भने, ‘पहिला विक्री गर्नलाई धेरै दिन कुर्नपर्थेन ।’
यो वर्ष विगतको तुलनामा सुस्त गतिमा व्यपार भइरहेको बोहोराले बताए । उनले १२० बढी च्यांग्रा र भेडा लिएर आएका छन् । ती सबै बेच्दा दशैं पोखरामै बित्ने उनको अनुमान छ । ‘गतवर्ष भन्दा ग्राहक आउने संख्या कम देखिन्छ’, उनी भन्छन्, ‘च्यांग्रा पनि धेरै आएकाले होला ।’ आएका उपभोक्ताले पनि निकै कम मोलमोलाइ गरेर फर्कने बोहोराले सुनाए ।

पोखरामा २५ देखि ३५ हजार रुपैयाँसम्मको च्यांग्रा, भेडा किनबेच भइरहेको छ । केही व्यापराीले ४२ हजार रुपैयाँसम्म भनिरहेका छन् । गत वर्षको दशैंमा औसतमा २५ देखि ४२ हजार रुपैयाँमा किनबेच भएको थियो ।
पोखराको सिमपानीदेखि याम्दीको पुलसम्म च्यांग्रा र भेडाको बथानको मेला लागेको छ । पोखरामा हिमाली भेडाच्यांग्रासँगै दशैंको रौनक भित्रिन्छ । दशैं, पोखरा र हिमाली भेडाच्यांग्रा पर्यायवाची बनेका छन् ।
यो वर्ष २२ हजारको हाराहारीमा भेडाच्यांग्रा पोखरा भित्रिएको भेटेरिनरी अस्पताल तथा पशुसेवाविज्ञ केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डेले बताए । उनका अनुसार मुस्ताङबाट मात्रै झन्डै १६ हजार भेडाच्यांग्रा ल्याइएको हो । मुस्ताङको स्थानीयसँगै डोल्पा र तिब्बतको भेडाच्यांग्रा पनि पोखरा झार्ने चलन छ ।
पश्चिमका जिल्लाबाट ट्रकमा हालेर झन्डै ६ हजार भेडाच्यांग्रा पोखरा ल्याइएको छ । केही संख्यामा बाग्लुङ हुदै आएको पाण्डेले जानकारी दिए । ‘पोखरा आउने भेडा च्यांग्राको संख्या यो भन्दा बढ्दैन होला । आउनुपर्ने आइसके’, पाण्डेले भने ।
घटस्थापना पहिलेदेखि नै पोखरामा भेडाच्यांग्रा आएका हुन् । हिमाली जिल्ला मुस्ताङ, डोल्पा, बझाङ, बाजुरा, हुम्ला, जुम्लाबाट किसान र व्यापारी दुवै भेडाच्यांग्रा लिएर पोखरा झर्छन् ।

हिमाली पाटन र बुकीमा चरेका भेडाच्यांग्राको स्वाद तिख्खरसँगै स्वास्थ्यका दृष्टिकोणले पोषिलो हुने भएकै पोखरेलीले बर्षको एकपटक स्वाद फेर्छन । त्यसैले दशैंको समयमा खसीबोको तुलनामा जडीबुटी खाएर हुर्केका भेडाच्यांग्रा बढी विक्री हुन्छ ।
१३ बर्षदेखि दशैंको मुखमा मुस्ताङबाट व्यापार गर्न पोखरा झर्ने सुरेन्द्र गुरुङको अनुभवमा पोखरेलीले लेकाली भेडाच्यांग्रा असाध्यै रुचाउछन् । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ का वडाध्यक्षसमेत रहेका गुरुङले भेडाच्यांग्रा लिएर दशैंमा जसै पोखरा झर्नुपर्ने सुनाए । किन ? उनी भन्छन्, ‘चिनजानका धेरै छन् । किन नआएको भनेर फोनै आउँछ । अरु सबै अन्त बेचियो भनेपनि एक लट त यहाँ (पोखरा) जसै ल्याउनुपर्छ । कास्कीसँगै छिमेकी जिल्ला तनहुँ, स्याङजाका उपभोक्ता पनि हिमाली लेका भेडा च्यांग्रा खरिद गर्न पोखरा ओर्लन्छन् ।
लेकाली भेडाच्यांग्रा बाहेक पोखरामा खसीबोकाको व्यापार पनि दशैंको बेला उच्च हुन्छ । यो वर्षको दशैंमा पोखरेली उपभोक्ताले १० हजार खसीबोका खरिद गर्ने भेटेरिनरी अस्पताल तथा पशुसेवाविज्ञ केन्द्र कास्कीको अनुमान छ । खसीबोका कास्कीका ग्रामिण भेगबाट मात्रै नभइ तनहुँ, स्याङजा, पाल्पा, नवलपूरसँगै तराईका जिल्लाबाट पनि ल्याइन्छ ।