+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पोखरामा हिमाली भेडाच्यांग्राको किनबेच (तस्बिरहरु)

तनहुँ खबर
१ हप्ता अगाडी

तनहुँ
हिमाली भेगका किसानले पालेका च्यांग्रा र भेंडा पोखरा सहर झरेका छन् । दशैंको मुखमा पोखरेलीको स्वाद फेरिदिन विक्रीका लागि च्यांग्रा र भेडा पोखरा झारेका हुन् ।

यो वर्ष पोखरामा २५ देखि ३५ हजार रुपैयाँसम्मको च्यांग्रा, भेडा किनबेच भइरहेको छ । गत वर्षको दशैंमा २५ देखि ४२ हजार रुपैयाँमा किनबेच भएको थियो ।

यतिबेला पोखराको सिमपानीदेखि याम्दिको पुलसम्म च्यांग्रा र भेडाको बथानै बथानले भरिएको छ । निर्माणधिन सडकको किनारमा खरिद गर्न पुग्ने उपभोक्ताको भीडले मेला नै लागेको भन्दा फरक पर्दैन ।

दशैंका लागि खरिद गर्न आएका उपभोक्ता बथानको रोज्जा च्यांग्रालाई च्याप्पै समातेर उचाल्छन् । केहीबेर तौल अन्दाज गर्छन । त्यसपछि मोलमोलाइ गरेर पैसा बुझाउछन् । भेडाच्यांग्राको घाँटीमा बाँधिएको डोरी समातेर मोटरसाइकल, स्कटुर, जीप, भ्यानमा सवार गराइ घरतर्फ लैजान्छन् ।

पोखरामा हिमाली च्यांग्रा र भेडा आएसँगै दशैंको रौनक भित्रन्छ । हरेक वर्ष सिमापानीदेखि याम्दि क्षेत्रमा हिमाली जिल्लाबाट किसान र व्यापारीले ल्याएका च्यांग्राको किनबेच हुन्छ ।

यसपाला २२ हजारको हाराहारीमा भेडाच्यांग्रा पोखरा भित्रिएको भेटनरी अस्पताल तथा पशुसेवाविज्ञ केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डेले बताए । उनका अनुसार मुस्ताङ हुँदै झन्डै १६ हजार भेडाच्यांग्रा ल्याइएको हो ।
पश्चिमबाट ट्रकमा हालेर झन्डै ६ हजार भेडाच्यांग्रा पोखरा ल्याइएको छ । केही संख्यामा बाग्लुङ हुदै आएको पाण्डेले जानकारी दिए ।


घटस्थापनाको पहिलेदेखि नै पोखरामा भेडाच्यांग्रा आएका हुन् । हिमाली जिल्ला मुस्ताङ, डोल्पा, बझाङ, बाजुरा, हुम्ला, जुम्लाबाट किसान र व्यापारी भेडाच्यांग्रा लिएर पोखरा झर्छन् ।

हिमाली पाटन र बुकीमा चरेका भेडाच्यांग्राको स्वाद तिख्खरसँगै स्वास्थ्यका दृष्टिकोणले पोषिलो हुने भएकै पोखरेलीले बर्षको एकपटक स्वाद फेर्छन । त्यसैले दशैंको समयमा खसीबोको तुलनामा जडीबुटी खाएर हुर्केका भेडाच्यांग्रा बढी विक्री हुन्छ । स्वस्थकर भनिएपनि पोखरामा आएका भेडाच्यांग्राको स्वास्थ्य जाँच विरलै हुन्छ । तैपनि उपभोक्ता कोही एक्लै त कोही समूहमा मिलेर खरिद गर्ने प्रचलन छ ।

यो वर्षको दशैंमा पोखराको बजारमा १० हजार खसीबोक विक्री हुने भेटनरी अस्पताल तथा पशुसेवाविज्ञ केन्द्र कास्कीको अनुमान छ । खसीबोका कास्कीका ग्रामिण क्षेत्रसँगै तनहुँ, स्याङजा, पाल्पा, नवलपूरसँगै तराईका जिल्लाबाट ल्याइन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

तनहुँ खबर

ट्रेन्डिङ