दुलेगौंडा
उन्नति कृषि सहकारी संस्था लिमिटेडले गत आर्थिक बर्षमा ५५ लाख रुपैयाँ बचत गरेको छ । दुई करोड ९५ लाख २१ हजार ५६८ रुपैयाँ २९ पैसा आम्दानी गरेको सहकारीले दुई करोड ३९ लाख ८३ हजार ५६० रुपैयाँ १ पैसा खर्च गरेको हो ।
५५ लाख ३८ हजार ८ रुपैयाँ २८ पैसा बचत गर्न सफल भएको सहकारी सञ्चाल समितिका कोषाध्यक्ष लालबहादुर कार्कीले जानकारी दिए । सोमबार सहकारीको १६ औं बार्षिक साधारण सभामा कार्कीले पेश गरेको आर्थिक प्रतिवेदन अनुसार सहकारीको शेयर पुँजी चार करोड ७० लाख ८८ हजार ७०० रुपैयाँ रहेको छ । २४ करोड २१ लाख २७० रुपैयाँ ९० पैसा सहकारीले निक्षेप संकलन गर्न सफल भएको छ । २१ करोड ६५ लाख ५८ हजार ६२१ रुपैयाँ कर्जा लगानी भएको प्रतिवेदनमा उल्लेख छ । ८ करोड ४३ लाख ७९ हजार ७७५ रुपैयाँ ९० पैसा बैंकमा मौज्दात छ ।
सहकारीको बार्षिक साधारण सभाको अवसरमा दुई जना उत्कृष्ट बचतकर्तालाई सम्मान गरिएको छ । हरिबहादुर खड्का र विष्णुमाया कार्कीलाई जिल्ला सहकारी संघका सचिव पदमबहादुर बानियाँ र उन्नति कृषि सहकारी संस्थाका अध्यक्ष मानकुमार तिम्लाले प्रमाणपत्रसहित सम्मान गरेका हुन् ।
कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघका सचिव पदमबहादुर बानियाँले आर्थिक मन्दीको चपेटामा परेको बेला पनि सहकारीले उत्कृष्ट कार्यसम्पादन गरेको बताए । सहकारीकै पूर्वअध्यक्षसमेत रहेका बानियाँले सहकारी सामूहिक कार्य भएकाले सबैको जोडबल चाहिने आवश्यकता औल्याएं ।
राष्ट्रिय पशुपंक्षी व्यवसायी महासंघकी केन्द्रिय सदस्य बसन्ता श्रेष्ठले सहकारीले रसायनिक मलको विक्रीवितरणमा प्रभावकारी भूमिका खेल्नुपर्ने बताइन् । निजि क्षेत्रको तुलनामा सहकारीको कम भूमिका रहेको उनले औल्याइन् ।
अध्यक्ष मानकुमार तिम्लाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव धुर्बराज लामीछाने, कोषाध्यक्ष लालबहादुर कार्की, उपाध्यक्ष शंकरबहादुर कार्की लगायतले बोलेका थिए ।